काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पुरुषतर्फको खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा हराएर पुलिसले सुखद सुरुवात गरेको हो ।
राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको पुलिसले नयाँबजारविरुद्ध २५-९, २५-२१ र २५-१६ को सेटमा जित निकाल्यो ।
प्रतियोगिता अन्तर्गत आज पुरुषतरफ थप दुई खेल हुनेछ । आज हुने अन्य खेलमा एपीएफ क्लबले बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबसँग खेल्नेछ ।
महिलातर्फको पहिलो खेलमा न्यु डाइमण्ड स्पोर्ट्स क्लबले जित हासिल गरिसकेको छ ।
पहिलो खेलमा न्यु डाइमण्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-६ २५-२ र २५-५ को सेटमा हराएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।
यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।