काठमाडौं । न्यु डाइमण्ड स्पोर्ट्स क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको महिलाको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डाइमण्डले सुखद सुरुवात गरेको हो ।
न्यु डाइमण्डले ढोरपाटनविरुद्ध २५-६ २५-२ र २५-५ को सेटमा हराएको हो ।
पुरुषतर्फ आज तीन खेल हुनेछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ । दोस्रो खेल एपीएफ विरुद्ध बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।
यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।