काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल बिहीबार (भोलि) बाट सुरु हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगमा पुरुषमा ८ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्दैछ ।
होङ्ग्वान्जी न्यु डाइमण्ड क्लब महिलातर्फ सहभागी हुने एक टोलि हो ।
तर, महिला भलिबलमा चर्चित टिम न्यु डाइमण्ड यस पटक सामान्य तयारीले प्रतियोगिता खेल्दैछ ।
न्यु डाइमण्डका मुख्य प्रशिक्षक कुमार राईले प्रतियोगितालाई भनेर राम्ररी तयारी गर्न नपाएको बताउछन् ।
उनले स्कुलका कारण विभागीय टोलीजस्तो प्रतियोगितालाई लक्षित गरी खेलाडीलाई भरपुर ट्रेनिङ दिन नसकिएको बताए।
‘हामीले प्रतियोगिता आयो भनेर राम्ररी समय निकालेर ट्रेनिङ गर्न पाउने अवस्था छैन । सबै खेलाडी स्कुले छन् । स्कुल भएका कारण ट्रेनिङलाई समय दिन सकेका छैनौ,’ प्रशिक्षक राईले खेलपाटीसँग भने ।
नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता चैत २६ सम्म सञ्चालन हुनेछ ।
लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगिता सुरु हुन मात्र एक दिन बाँकी हुँदा पनि अझै खुलेर खेलाडीलाई प्रशिक्षण गराउन नपाएको उनले बताए ।
‘स्कुल सकेर ४ बजेपछि बल्ल प्रशिक्षण गर्ने समय हुन्छ । स्कुल नै भएको कारणले गर्दा हामीले खुलेर गर्न पाएको छैन । एकदिन खुलेर गरौँ भनेको आज टेक्निकल मिटिङ परेको छ । पर्सि त गेम नै खेल्ने भयौ । हाम्रो त विभागीय टोलीजस्तो आनन्दसँग ट्रेनिङ गराउने समय छैन । हामी त संसारकै दुखी टिम हौं ।’ प्रशिक्षक राईले भने ।
यस्तै प्रशिक्षक राईले चोट मुक्त हुँदै खेलमा फर्किएकी प्रतिभाको खेलमा सुधार हुँदै गएको जानकारी दिए।