काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)का उपाध्यक्ष मेघराज पौडेलको राजीनामा स्विकृत भएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै पौडेलले नासाको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
नेपालमा मोटर स्पोर्टसको प्रवद्र्धनमा कार्यरत संस्था नासाले पौडेलको राजीनामा स्विकृत गरेको हो ।
नयाँ ऐनले एकै व्यक्ति दुई वटा संघमा बस्न बन्देज गरेको छ । पौडेल नेपाल क्लाइम्बिङ संघका महासचिव समेत हुन् । सोही कारण उनले नासाबाट राजीनामा दिएका हुन् ।
पौडेलले आफु अब क्लाइम्बिङकै गतिविधिमा केन्द्रित हुने बताए ।
'नयाँ ऐनको पालना गर्दै नासाको जिम्मेवारीबाट राजीनामा दिएको छु । अब क्लाइम्बिङकै गतिविधिमा सक्रिय भएर लाग्नेछु ।' उनले खेलपाटीसंग भने ।
उनी नासाका संस्थापक सदस्य हुन् । उनले सदस्य, सचिव, सल्लाहकार हुँदै एक कार्यकाल उपाध्यक्षको रुपमा काम गरिसकेका छन् ।
पौडेल पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको दौडमा समेत देखिएका थिए । उनी नेकपाको खेलकुद महासंघका सदस्य समेत हुन् ।