धनगढी । कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी पूरा भएको छ ।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा शुक्रबार धनगढीमा हुने स्पोर्टस अवार्डको तयारी पूरा भएको हो ।
मञ्चका कोषाध्यक्ष हरी जोशीका अनुसार अवार्डको मनोनयनमा परेका खेलाडी धनगढी पुग्ने क्रम जारी छ ।
‘दोस्रो पटक आयोजना हुन लागेको अवार्डका लागि सुदूरपश्चिमका खेलप्रेमी प्रतिक्षामा छन्,’ उनले भने, ‘भोलि दिउसो २ बजेदेखि कार्यक्रम सुरु हुन्छ । ९ विधामा अवार्ड प्रदान गरिनेछ । प्रमुख अतिथी मुख्यमन्त्री त्रिलोचन भट्ट रहनेछन् ।’
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाईस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाईम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।