काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी समितिमा एकेन्द्र कुँवर र नन्दा बस्याल नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले बोर्ड सदस्य एकेन्द्र र नन्दालाई राखेपको कार्यकारी समितिमा मनोनित गरेका हुन् ।
मन्त्री तामाङले सोमबार दुवै जनालाई कार्यकारी समितिमा नियुक्त गर्ने निर्णय गरेका थिए ।
कार्यकारी समितिमा मनोनित भएका दुवैले मंगलबार पत्र प्राप्त गरेका छन् ।
खेलपाटीसंग कुरा गर्दै मन्त्री तामाङले दुई जनालाई राखेपको कार्यकारी समितिमा नियुक्त गरिएको बताए ।
उनले ऐन अनुसार आफुले कार्यकारी समितिमा नियुक्त गरिएको उल्लेख गरे ।
दुवै जना मन्त्रीपरिषद्बाट बोर्ड सदस्यमा नियुक्त भएका थिए । एकेन्द्र सुदुरपश्चिम र नन्दा कर्णाली प्रदेशबाट प्रतिनिधित्व हुने गरि बोर्ड सदस्यमा नियुक्त गरिएको थियो ।
तत्कालिन मन्त्री जगत विश्वकर्माको सिफारिसमा मन्त्रीपरिषद्ले दुवै जनालाई नियुक्त गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा राखेप सञ्चालनका लागि कार्यकारी समितिको व्यवस्था गरेको छ ।
ऐन अनुसार कार्यकारी समिति ७ सदस्यीय हुने उल्लेख छ । सदस्य सचिव संयोजकत्वको समितिमा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख पदेन सदस्य र राखेपको प्रशासन विभाग प्रमुख पदेन सचिव रहने व्यवस्था छ ।
बाँकी रहेका ४ मध्य २ जना परिषद् अध्यक्षको हैसियतमा खेलकुद मन्त्रीले मनोनित गर्ने र थप २ जना राखेपको बोर्ड बैठकले मनोनित गर्ने व्यवस्था ऐनमा रहेको छ ।
एकेन्द्र प्रधानमन्त्री केपी ओलीका सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा निकटका हुन् । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक बस्याललाई कार्यकारी समिति सदस्यमा राख्न प्रधानमन्त्री ओलीले समेत जोड गरेको निकट स्रोत बताउँछ ।