काठमाडौं । नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले हाफ म्याराथनको उपाधि जितेका छन् ।
संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको हाफ म्याराथनमा निर्धारित दुरी गोपीले १ घण्टा १० मिनेट ५३ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । उपाधिसंगै गोपीले ५० हजार नगद पुरस्कार हात पारे ।
हाफ म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठ दोश्रो भए । उनले १ घण्टा ११ मिनेट ०५ सेकेन्डमा दौड पुरा गरे । तेश्रो भएका सेनाकै हरिकुमार रिमालले १ घण्टा १२ मिनेट २५ सेकेन्ड समय खर्चे ।
यस्तै सेनाका खेलाडी खगेन्द्र भाट चौथो, एपीएफका किरणसिंह बोगटीले पाँचौं र खिमबहादुर खत्रीले छैटौं स्थानमा रहे । दोश्रो हुनेले ३० हजार, तेश्रोले २० हजार, चौथोले १० हजार तथा पाँचौं र छैटौंले समान ५–५ हजार नगद पुरस्कार जिते ।
त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः राखेपमै आएर टुंगिएको म्याराथनमा ९५ पुरुष खेलाडी सहभागी थिए ।