काठमाडौं । नेपाल आर्मीले प्रदेश २ स्तरीय पुरुष टग अफ वार प्रतियोगिताको उपाधि जितेको । नेपाल टग अफ वार संघ, प्रदेश २ समितिद्वारा आयोजित प्रतियोगिता एपीएफ दोश्रो भयो ।
हरिवन नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगितामा आर्मीले ३० हजार र एपीएफले २० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, बरहठवा नगरपालिका, पर्वतीय खेलकुद महासंघलगायतको पनि सहयोग रहेको थियो ।
हरिवन नगरपालिकामा भएको प्रतियोगितामा ९ पुरुष टिम सहभागी थिए । विजेतालाई हरिवन नगरपालिकाकी उप मेयर रेणुका पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि दुईदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य गोविन्द भट्टराईले उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश सिवाकोटी, बरहठवा नगरपालिकाका मेयर देवानन्द महतो, नेपाल टग अफ वारका उपाध्यक्ष सूर्य भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन अवसरमा महिलाको प्रदर्शनी खेल पनि भएको थियो ।