काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विमला जोशी अमात्य र भवानी अधिकारी पोखरेललाई सम्मान गरेको छ ।
नेपाली खेलकुदमा पुर्याएको योगदानका लागि उनीहरूलाई सोमबार सम्मान गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरे ।
सम्मानसँगै दुबै जनालाई २५ हजार रुपैंया पनि प्रदान गरिएको थियो ।
विमला एथलेटिक्सकी पूर्व खेलाडी हुन् र उनी एक दशक भन्दा बढी समय मध्यम दूरीको दौडमा सक्रिय रहिन् । उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा तीन हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् ।
अधिकारीलाई भने कर्मचारी प्रशासनतर्फबाट सम्मान गरिएको हो । उनी तीन दशकदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रूपमा कार्यरत छिन् ।
कमिसनले यसअघि प्रत्येक दुई दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान अबदेखि प्रत्येक वर्ष प्रदान गर्ने निर्णय पनि गरेको छ । कमिसनले सन् २०१२ देखि महिला दिवसका रूपमा सम्मान गर्न सुरु गरेको हो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको नेतृत्वमा अझै पनि महिला पछाडि रहेको बताउदै यो क्षेत्र अझ महिला मैत्री हुनु पर्ने बताए ।
कार्यक्रमका सभापति नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एंव वुमेन्स एन्ड स्पोर्टस कमिसनका अध्यक्ष ज्योति राणा रहेकी थिइन् ।