आहा रारा गोल्डकपको प्रत्यक्ष प्रशारण देखापढीमा

काठमाडौं । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण देखापढी डटकमबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।
आयोजक सहारा क्लब सोमबार देखापढी डटकमको प्रकाशक कथा नेपाल प्रालिसँग एक वर्षे सम्झौता गरेको छ ।
सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा र कथा नेपाल प्रालिका प्रबन्ध निर्देशक मनोज राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै प्रतियोगिताको अडियो भिडियो अधिकार कथा नेपालसँग रहनेछ ।
त्यस्तै प्रतियोगिताको प्रत्यक्ष प्रशारण देखापढी डटकमबाट हुनेछ ।
त्यसबापत आयोजकलाई कथा नेपाल प्रालिले ५ लाख उपलब्ध गराउने छ ।
प्रतियोगिता चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने जनाएको छ ।
प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको टिकट शुल्क र पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन ।
गत वर्ष नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको थियो ।
गत वर्ष मनाङले १० लाख १ हजार प्राप्त गरेको थियो भने उपविजेता पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगिता संञ्चालन गर्न अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ रहने बताइएको छ । प्रतियोगिता सञ्चालनबाट १ करोड ३० लाख १ हजार रुपैयँ अनुमानित आम्दानी हुने सहरा क्लबले विश्वास गरेको छ ।
क्याराभान गोल्ड कप सहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
प्रतियोगिताबाट बचत हुन आएको रकम आयोजक सहरा क्लबबाट संचालित सहरा फुटबल एकेडेमी संचालनमा खर्च गरिँदै आएको छ । हाल एकेडेमीको तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित रहेका छन् ।
क्लबले पोखरा १७ जिल्लामा २०७० सालदेखि बालकलाई आवसीयरुपमा निशुल्क स्वास्थ्य, शिक्षाको साथै फुटबल प्रशिक्षण समेत गराउँदै आएको छ।