काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कराते खेलाडी मन्देकाजी श्रेष्ठ र तेक्वान्दोकी काजल श्रेष्ठ 'हल अफ फेम' सम्मानबाट सम्मानित भएका छन् ।
ख्वोपा फुटसल प्रालीले आइतबार सागका दोहोरो स्वर्णधारी मन्देकाजी र एक स्वर्णधारी काजललाई 'हल अफ फेम' बाट सम्मान गरेको हो ।
वर्षका उत्कृष्ट पुरुष खेलाडीको रुपमा मन्देकाजी र उत्कृष्ट महिला खेलाडीको रुपमा काजललाई सम्मान गरिएको हो ।
यस्तै फुटबल प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी मिलन हाडालाई लिजेण्डरी खेलाडीबाट सम्मान गरिएको छ ।
कला र सम्पदा संरक्षणमा काम गर्दै आइरहेका रविन्द्र पुरी र कोभिड-१९ को महामारीको समय समाजसेवामा सक्रिय आरएनए-१६ टिमलाई पनि 'हल अफ फेम' बाट सम्मान गरिएको छ ।
त्यस्तै खेलपाटी डटकमका खेल पत्रकार रमेश सुवेदी वर्षको उत्कृष्ट खेल पत्रकारबाट सम्मानित भए ।
कार्यक्रममा केल्मी नेपालका उत्तम न्यौपानेलाई पनि कदरपत्रबाट सम्मानित गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि तथा समाजसेवी राजन प्रजापति, ख्वोपा फुटसल प्रालीका अध्यक्ष राम प्रजापति, सल्लाहकार रंजित तामाङ, रमेश मल्ल लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
चौंथो 'हल अफ फेम' खुल्ला फुटसल प्रतियोगिताको दौरान ख्वोपा फुटसल प्रालीले उनीहरुलाई सम्मान गरेको हो ।
प्रतियोगिताको उपाधि भने सुर्य फुटसलले जितेको थियो ।