धनगढी । दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका लागि नेकपाका नेता नारदमुनि रानाले सहयोगको घोषणा गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि ५० हजार सहयोग गर्ने विघटित प्रतिनिधि सभा सदस्य रानाले ५० हजार सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव भानुभक्त आचार्य र नेता राना बीच सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । रानाले आफुले खेलकुदलाई सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
चैत ६ गते आयोजना हुने अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।