रजनीको गोलमा चन्द्रपुरको दोस्रो जित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार विराटनगर महानगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले लिगमा दोस्रो जित निकालेको हो ।
चन्द्रपुरको जितमा रजनी थोकरले निर्णायक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा रजनीले गोल गरेकी हुन् ।
सुनिता भोलानको पासमा रजनीले विराटनगरकी गोलरक्षक कल्पना कार्कीलाई बिट गर्दै गोल गरिन् ।
यस अघि चन्द्रपुरले चौदण्डीगढीलाई हराएको थियो । त्यसबाहेक चन्द्रपुर अन्य ४ खेलमा पराजित भएको थियो ।
यस जितसंगै चन्द्रपुरले विराटनगरविरुद्ध पहिलो चरणको खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
यस अघिको भेटमा विराटनगरले चन्द्रपुरलाई ५-० ले हराएको थियो ।
दोस्रो जित निकालेसंगै चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ ।
चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।
विराटनगरको ७ खेलमा १० अंक सहित तेस्रो स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
चन्द्रपुरक मुख्य प्रशिक्षक नूरराज काफ्लेले खेलाडीले सोचेको भन्दा राम्रो खेलेको कारण नतिजा आएको बताए ।
'आज सोचेभन्दा राम्रो खेले । हामी दुबै एउटै स्तरको थियौ । पहिलो खेलमा हार्न नहुने थियो । नसोचेको रिजल्ट आयो,' उनले भने, 'बदला लिन सफल भए । खेलाडीलाई धन्यवाद ।'
विराटनगरका मुख्य प्रशिक्षक पारस चौधरीले टिमले राम्रो खेलेपनि गोल निकाल्न नसकेको बताए ।
'दोस्रो हाफमा एक गोल भयो । पहिलो हाफमा ५-६ चान्स थियो । गोल नहुदा खेलाडीले प्रेसर लियो,' उनले भने, 'गोल भएन । जित्ने लक्ष्य थियो पुरा भएन ।'