काठमाडौं । धरान सुनसरीका किरण लिम्बुले तेस्रो संस्करणको क्रस दुवाथलन सिरिजको उपाधि जितेका छन् ।
ललितपुरको चापागाँउस्थित झरुवारासी बज्रबाराहीमा २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मिको दौड ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन बनेका हुन् ।
लिम्बुले पुरा गरेको समय तेस्रो संस्करणसम्मको सबैभन्दा छोटो समय हो ।
पहिलो संस्करणमा सुरेश भुजेलले ३५ः४० मिनेट र दोस्रो संस्करणमा अच्युत कृष्ण खरेल ३७ मिनेट २७ सेकेन्डमा दुरी पुरा गर्दै च्याम्पियन बनेका थिए ।
महिला तर्फ भने अनिशा गुरुङ्गले ४३ः५४ मिनेटको छोटो समय कायम राखेकी छिन् । उनले पहिलो संस्करणमा उक्त समयमा निर्धारित दुरी पुरा गरेकी थिईन् ।
नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा भएको सिरिजमा महिलातर्फ बिदिशा चौधरीले निर्धारित दुरी ४९ मिनट ५२.४१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भईन् ।
दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दुरी पुरा गर्न नसकी बिचमै प्रतिस्पर्धा त्यागे पछि चौधरी च्याम्पियनको हकदार बनेकी थिईन् ।
लिम्बु र चौधरीले किङ्गस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
च्याम्पियनसिपको पुरुषतर्फ सुरज कुमार पासवान दोश्रो र मौलिक महर्जन तेश्रो भए । पासवानले निर्धारित दुरी ४० मिनेट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनेट ५६.८५ सेकेन्डमा पुरा गरे ।
दोस्रो हुनेले पिएएन्सी (प्याङ्क) को तर्फबाट प्रदान गरिएको खेलाडीहरुले प्रयोग गर्ने सामाग्री प्राप्त गरे भने तेश्रो हुनेले टेरिज क्याफेसिनोको तर्फबाट प्रदान गरिएको ५ सय बराबरको भौचर प्राप्त गरे । यस्तै विजयी सबैलाई प्याङ्कको तर्फबाट निशुल्क साईकल मर्मतको भौचर प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, इमराल्ड नेशनल स्कुलका प्रिन्सिपल जित क्षेत्री, समाजसेवी दीपक राज घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।
खेलको माध्ययमबाट स्थानिय निकाय र संस्थाहरु संग समन्वय गरि स्थानियस्तरमा नव खेलाडी उत्पादन गर्ने र खेल समुदायको निर्माण गर्दै ट्राईयाथलन खेल तर्फ आकर्षित गर्ने उद्धेश्यले आयोजना गरिएको च्याम्पियनसिपको पहिलो संस्करण काठमाण्डौको पुरानो सहर टोखामा र दोश्रो संस्करण ऐतिहासिक सहर किर्तिपुरमा आयोजना भई सकेको छ ।
तीन महिना सम्म प्रत्येक दोस्रो हप्ता आयोजना हुने च्याम्पियनसिपको चौथो संस्करण टोखामा र पाँचौ किर्तिपुरमा हुनेछ । सिरिजको अन्तिम तथा छैटौं संस्करण उपत्यका बाहिर पोखरामा आयोजना हुने संघले जनाएको छ ।