काठमाडौं । एएफसी 'ए' लाईसेन्स प्राप्त प्रशिक्षक प्रदिप हुँमागाईले अखिल नेपाल फुटबल संघ (एन्फा) को कर्मचारीमाथि दुर्व्यवहार गरेका छन् ।
प्रशिक्षक हुँमागाईले मंगलबार साँझ एन्फाका ३ कर्मचारी र एक पदाधिकारीमाथि दुर्व्यवहार गरेका हुन् ।
प्रशिक्षक हुँमागाईले ३ कर्मचारी र पदाधिकारी माथि मदिरा सेवन गर्दै अपशब्द बोल्दै दुर्व्यवहार गरेको एन्फा स्रोतले जनाएको छ ।
उनीहरुले प्रशिक्षक हुँमागाईविरुद्ध एन्फामा उजुरी गरेका छन् ।
कर्मचारीको उजुरीसँगै प्रशिक्षक हुँमागाईसँग एन्फाले स्पष्टीकरण मागेको छ । उनले ७२ घण्टाभित्र एन्फामा स्पष्टीकरण बुझाउनु पर्नेछ ।
प्रशिक्षक हुँमागाईले भने शंखमुलमा सामान्य भनाभन भएको स्विकार गर्दै त्यो भनाभनलाई आफुले सामान्य रुपमा लिएको बताएका छन् ।
‘म आफै अचम्मित छु । भेट भएको हो । सामान्य डिस्कस भएको हो । उहाँको नाम पनि मलाई थाहा छैन । उहाँहरुलाई म सम्मान गर्छु । तर सामान्य डिस्कस मात्रै भएको हो । अरु केहि भएको हैन ।’ ए डिभिजन क्लब थ्रीस्टारका पूर्व प्रशिक्षक समेत रहेका हुँमागाईले खेलपाटीसँग भने ।
थ्रीस्टार क्लबलाई राष्ट्रिय लिग उपाधि जिताएपछि चर्चामा आएका प्रशिक्षक हुँमागाई केहि समययता अमेरिका बस्दै आएका छन् ।
हाल हुँमागाई नेपालमै रहेका छन् ।