धनगढी । दोस्रो संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई धनगढी उपमहानगरपालिकाले प्रबर्दकको रुपमा साथ दिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डका लागि उपमहानगरपालिकाले प्रबर्दकको रुपमा साथ दिने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनाको तयारी थालेको दोस्रो संस्करणका लागि धनगढीका उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड र मञ्चका तर्फबाट महासचिव प्रदीप पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरुपश्चिमा यो सम्भवतः पहिलो हो । स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको थियो ।
चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणको तयारी सुरु भएको छ । २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो ।
पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ ।