काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभामा भक्तपुर जिल्ला फुटबल संघको कारबाहीमा परेका पदाधिकारीले हस्ताक्षर अभियान चलाएका छन् ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा चल्दै गर्दा कारबाहीमा परेका पदाधिकारीले हस्ताक्षर अभियान चलाएका हुन् ।
उनीहरुले कारबाही फुकुवा र साधारण सभामा उपस्थिति जनाउन पाउनुपर्ने लगायतका मागसहित हस्ताक्षर अभियान हुन् ।
एन्फाले गत असारमा गौतम सुखजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गर्दै १३ सदस्यीय तदर्थ कमिटि गठन गरेको थियो ।
विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले कार्यसमितिलाई भंग गर्दै तदर्थ कमिटि गठन गरेको बताएको थियो ।
भक्तपुर जिल्ला फुटबल संघको बिषयमा अनुसन्धान गर्न एन्फाले लिग निर्देशक सञ्जिव मिश्र र कार्यसमिति सदस्य मधुसुधन उपाध्यायको नेतृत्वमा कमिटि गठन गरेको थियो ।
दुबै कमिटिको प्रतिवेदनका आधारमा एन्फा कार्यसमिति बैठकले भक्तपुर जिल्ला फुटबल संघलाई भंग गर्दै तदर्थ कमिटि गठन गर्ने निर्णय गरेको हो ।
यता, कारबाहीमा परेका पदाधिकारीहरु भने एन्फाको अनियमितता र एन्फाको हितमा आवाज उठाउदा विधान विपरित कार्यसमिति भंग गरेको आरोप लगाउने गरेका छन् ।