काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कपको उपाधि मनास्लु भलिबल ट्रेनिङ सेन्टरले जितेको छ ।
शनिबार भएको फाईनल खेलमा महाकाल भलिबल क्लबलाई पराजित गर्दै मनास्लुको ए टिमले उपाधि जितेको हो ।
पहिलो सेट २१–२५ ले गुमाएपनि लगातार तीन सेटमा जित निकाल्दै मनास्लुले उपाधिमाथि कब्जा गर्यो ।
बसपार्कको टिम मनास्लुले चन्द्रागिरी नगरपालिकाको महाकाललाई २१–२५, २५–२०, २५–१४ र २५–१४ को सेटमा हरायो ।
उपाधि सहित मनास्लुले १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता महाकालले ५० हजार रुपैयाँमा चित्त बुझायो । फाईनलमा उत्कृष्ट खेल प्रर्दशन गरेका अशोक श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
विधागततर्फको पुरस्कारमा मनास्लुको वर्चस्व रह्यो । उत्कृष्ट सर्भरमा मनास्लुका आशिष श्रेष्ठ, उत्कृष्ट ब्लकरमा बिशाल सिंह ठकुर, उत्कृष्ट सेटरमा दिवस आलेमगर र उत्कृष्ट डिफेन्डरमा पारसमान गुरुङ्ग घाेषित भए । महाकालका ललित खत्री प्रतियोगिताकाे उत्कृष्ट स्पाईकर चुनिए ।
मनास्लुलाई उपाधि जिताएका मिलन चन्द ठकुरी प्रतियाेगिताकाे सर्वोकृष्ट खेलाडी चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
शनिबारनै भएको पहिलो खेलमा ढोरपाटन भलिबल क्लबलाई पराजित गर्दै पोखराको शान्त सेकेन्डरी स्कुल तेस्रो बन्यो । तेस्रो बनेको शान्त पोखराले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
पुस २५ गतेबाट सञ्चालित प्रतियोगितामा १६ टिम सहभागी थिए । सहभागी टिमलाई चार समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाईएको थियो ।
कोरोनाका कारण प्रभावित बनेको घरेलु भलिबललाई चलायमान बनाउन प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक सुनिल महर्जनले बताए ।