पोखरा । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही नगदसहित सम्मानित भएकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस अवार्ड जितेकी अरुणा शनिबार सम्मानित भएकी हुन् ।
गत पुस २८ गते काठमाडौंमा आयोजित अवार्ड कार्यक्रममा अरुणा कप्तान रहेकी महिला भलिबल टिमले 'टिम अफ दि इयर' अवार्ड समेत प्राप्त गरेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई प्रोत्साहन स्वरुप नगद १ लाखबाट सम्मान गरेको हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले अरुणालाई १ लाखको चेक प्रदान गरिन् ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री पुनले अरुणालाई बधाई दिंदै मन्त्रालयले प्रदेश खेलकुदको विकासका लागि प्रतिवद्ध भएको बताईन् ।
पुनले कोरोनाका कारण मन्त्रालयको ध्यान नागरिक स्वास्थ्यमा केन्द्रित रहेकाले अन्य काममा ध्यान पुग्न नसकेको बताइन । यद्यपि मन्त्रालयको आर्थिक क्षमताले भ्याएसम्म विकासको कार्यलाई अघि बढाएको उनले दाबी गरिन् ।
यस्तै पुनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताएकी छिन् ।
सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले व्यक्तिगत रुपमा अरुणालाई नगद ११ हजार सहयोग गरेका छन् ।
त्यस्तै अरुणा शाही जिताउ अभियान अन्तर्गत बचत रकम अरुणालाई हस्तान्तरण गरिएको छ ।
अभियान अन्तर्गत बचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ र प्रदेश सरकारको प्रोत्साहन बापत प्राप्त नगद १ लाख सहित ४ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरिएको हो ।
भलिबल प्रतियोगितामा टिकट बिक्रीबाट २ लाख ५३ हजार गरि कुल १६ लाख ७३ हजार सात सय पाँच रुपैयाँ संकलन भएको नेपाल भलिबल संघका सल्लाहकार एवम वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले जानकारी दिए ।
अभियान अन्तर्गत ई–सेवा भोटिङका लागि १० लाख, भलिबल खेल व्यवस्थापनका लागि २ लाख ७० हजार र अन्य खर्च गरि कूल १३ लाख खर्च गरिएको जानकारी दिंदै सल्लाहकार शर्माले अरुणालाई जिताउन प्रतिवद्धता भएको रकम ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन बाँकि रहेको समेत जानकारी दिए ।
कार्यक्रममा अरुणाले अवार्ड जितेकोमा आभार व्यक्त गरिन् ।
'स्पोर्ट्स अवार्ड जस्तो गरिमा बोकेको अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गर्छु । यो जितले अझै जिम्मेवारी थपेको छ,' उनले भनिन् ।