काठमाडौं । कराँतेका मन्देकाजी श्रेष्ठलाई पिपल्स च्वाईस अवार्डमा जिताउन लगनखेल डोजोले आर्थिक सहयोग गरेको छ ।
घरेलु खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्ड कार्यक्रम पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाईस विधाको मनोनयनमा परेका मन्देकाजीलाई जिताउन लगनखेल डोजोले आर्थिक सहयोग गरेको हो ।
मन्देकाजी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का दोहोरो स्वर्ण विजेता खेलाडी हुन् ।
कराँतेबाट कीर्तिमान सफलता हात पारेका मन्देकाजीको लोकप्रियता र चर्चालाई आधार बनाएर आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले उनलाई पिपल्स च्वाईस विधामा मनोनयन गरेको छ ।
आठौं तथा नवौं साग गेम्सका कराँतेका स्वर्ण विजेता खेलाडी दीपक श्रेष्ठको संयोजनमा मन्देकाजीलाई जिताउने अभियान सुरु भएको छ । श्रेष्ठनै नेतृत्वमा कराँतेको टोली लगनखेल पुगेर आर्थिक सहयोग संकलन गरेको थियो ।
मन्देकाजीसंगै पिपल्स च्वाईस विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदीना श्रेष्ठ परेका छन् ।
मनोनयनमा परेका खेलाडीले ई–सेवाको एपबाट प्राप्त गरेको भोट, फेसबुक तथा राष्ट्रिय खेलका प्रशिक्षक र खेल पत्रकारको भोटका आधारमा अवार्ड प्राप्त गर्नेछन् ।
यस वर्षको अवार्ड कार्यक्रम पुष २८ गते आयोजना हुदैछ ।