काठमाडौं । कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्तीमा उच्च अदालत सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ ।
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वमित्र सन्ज्याललाई नियुक्ति गर्ने प्रदेश सरकारको निर्णयमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
प्रदेशको पुस ६ गते बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश खेलुकद परिषद्को पदाधिकारी नियुक्ति सम्बन्धि निर्णय गरेको थियो ।
सदस्य सचिवको सिफारिस समितिले धनश्याम पाण्डे, ऋषी गिरी र विश्व मित्र सन्ज्यालको नाम सिफारिस गरेको थियो ।
मन्त्रीपरिषद्ले कालिकोटमा सन्ज्याललाई कर्णाली प्रदेशको खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
उच्च अदालतका न्यायाधिश नहकुल सुबेदीको ईजलासले कर्णाली प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका नाममा सदस्य सचिव नियुक्तिका सन्दर्भमा कारण देखाउ आदेश जारी गरेको हो ।
सन्ज्याल नियुक्तिमा आपत्ती जनाउँदै सदस्य सचिवको सिफारिसमा परेका अर्का उम्मेदवार ऋषि गिरीले मन्त्रीपरिषद्को निर्णयविरुद्ध सुर्खेतको उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।
अदालतले दुवै पक्षलाई छलफलका लागि पुस २० गते बोलाएको छ ।
उनले सदस्य सचिवमा नियुक्त गरिएका सन्ज्यालको खेल क्षेत्रमा अनुभव नपुगेको दाबी गरेका छन् ।
सन्ज्याल राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व ईन्जिनियर हुन् ।
निर्माण, पूर्वाधार क्षेत्रमा काम गरेको ब्यक्तिको सदस्य सचिवमा योग्यता पुग्ने-नपुग्ने विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालयले यसअघि सघीय मामिला तथा कानुन मन्त्रालयसंग राय मागेको थियो ।
त्यसपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृह जिल्लाका सन्ज्याललाई सदस्य सचिवमा नियुक्त गरेका थिए ।