काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमले लगाउने जर्सीमा राखिने लोगोका लागि एडप्याडसंग प्रायोजन सम्झौता गरेको छ ।
लामो समयदेखि राष्ट्रिय क्रिकेट टिमका लागि प्रायोजक खोजिरहेको क्यानले जर्सीमा राखिने लोगोका लागि मार्केटिङ्ग कम्पनी एडप्याडसंग प्रायोजन सम्झौता गरेको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एएनएस ग्रुपका अध्यक्ष सुदिप थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताको अवधि १५ महिनाको हुनेछ ।
सम्झौता अनुसार राष्ट्रिय क्रिकेट टिमले लगाउने जर्सीका लागि एडप्याडले प्रायोजक खोज्नेछ । जर्सीमा राखिने लोगोको सर्वाधिकार एडप्याडमा निहित रहनेछ । सो वापत एडप्याडले क्यानले निश्चित रकम उपलब्ध गराउनेछ । क्यानले सम्झौता वापतको रकम खुलाउन चाहेको छैन ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले २५ वर्षको मार्केटिङको अनुभव भएको कम्पनीसंग सम्झौता गर्न पाउँदा खुसी लागेको बताए । क्यान अध्यक्ष चन्दले सम्झौताबाट क्रिकेट प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने धारणा राखे ।
एडप्याडका अध्यक्ष सुदीप थापाले राष्ट्रिय क्रिकेट टिमसंग नजिकबाट काम गर्न पाउँदा खुसी लागेको बताए ।
क्यानका महासचिव अशोक नाथ प्याकुरेलले कोभिडको कठिन अवस्थामा एडप्याडसंग प्रायोजन सम्झौता गरिएको बताए । उनले अबको १५ महिना राष्ट्रिय टिमको जर्सीमा राखिने लोगोको सर्वाधिकार एडप्याडसंग हुने खेलपाटीलाई बताए ।