काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीको संसद विगठन गर्ने निर्णय गैरसंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै बोर्ड सदस्य केसीले राखेपको बोर्ड सदस्यबाट राजीनामा दिएका हुन् ।
उनले सोमबार युवा तथा खेलकुद मन्त्रालयमा पुगेर राजीनामाको पत्र दर्ता गराएका छन् ।
‘खेलकुद मन्त्रीलाई केही समय प्रतिक्षा गरे । उहाँ नआउने जानकारी पाएपछि राजीनामा दर्ता गरेर फर्किए ।’ केसीले खेलपाटीसंग भने ।
निवर्तमान खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बक्सिङ्ग प्रशिक्षक केसीलाई परिषद् अध्यक्षको हैसियतमा बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।
सदस्य केसीले परिषद्को बोर्डले पूर्णता नपाउँदै सदस्य पदबाट राजीनामा दिएका हुन् ।
जनमतलाई कुल्चिएर प्रधानमन्त्री ओलीले संसद विगठन गरेको उल्लेख गर्दै केसीले पाटीका सम्पूर्ण साथीहरु विरोधमा सडकमा रहेको अवस्थामा आफुलाई पदमा बस्न मन नलागेको बताए ।
उनले राखेपमा बसेर सरकार र प्रधानमन्त्रीको विरोध गर्न भन्दा बाहिर निस्कन राजीनामा दिएको बताए ।
‘खेलकुदलाई केही गर्छु भन्ने थियो । एक कार्यकालमा राम्रो काम पनि गरे । कामै गर्नका लागि अर्को कार्यकाल पनि गएको हुँ । तर प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विगठन गर्नुभयो ।’ उनले भने, ‘पाटीका अध्यक्ष प्रचण्ड, माधव नेपाल बाटोमा बसिरहँदा राखेपमा बस्न औचित्य लागेन ।’
प्रधानमन्त्री ओलीले संसद विगठन गर्ने घोषणा गरेपछि सत्तारुढ दल नेकपा विभाजित अवस्थामा छ । त्यसकै असर खेलकुदको सर्वोच्च निकाय राखेपमा समेत देखिएको छ ।
केसी विभाजित नेकपामा पूर्व माओबादीका रुपमा चिनिन्छन् । नेकपा अध्यक्ष प्रचण्डको सिफारिस लिएर केसीले बोर्ड सदस्यमा नियुक्ति लिएका थिए ।