काठमाडौं । कर्णाली प्रादेशिक फुटबल संघको अध्यक्षमा प्रमोद हमाल निर्विरोध निर्वाचित भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साेमबार गठन गरेको प्रदेशको तदर्थ कमिटिमा हमाल सहित ७ सदस्यीय कमिटि निर्विरोध निर्वाचित भएको हो ।
हमालको अध्यक्षमा चयन भएको कमिटिमा जुल्लाका भरत खत्री उपाध्यक्ष चुनिएका छन् । यस्तै, महासचिवमा गणेशकुमार कार्की, कोषाध्यक्षमा अजय बुढा थापा र सदस्यहरुमा कृष्ण खड्का, महेन्द्र चोधरी, खगेश्वर आचार्य रहेका छन् ।
निर्वाचित कमिटिले ४ जना सदस्यलाई मनोनित गर्नेछ ।
एन्फाका केन्द्रिय परिवेक्षक कुमार केसी र एन्फा उपाध्यक्ष शिक्षित पराजुली उपस्थितीमा प्रदेश कमिटि गठन गरिएको हो ।
एन्फा कार्यसमिति सदस्य कुमार केसीले फुटबललाई बिकेन्द्रिकरण गर्ने उद्धेश्य अनुरुप संघीय संरचना अनुसार प्रदेश कमिटि गठन गरिएको बताए ।
उनले प्रदेशको कमिटि यसअघिको नाममात्रको क्षेत्रीय समिति जस्तो नभएको उल्लेख गर्दै जिल्लाकै प्रतिनिधिको प्रस्ताव र सल्लाहमा प्रदेश गठन गरिएको उल्लेख गरे ।
‘प्रदेश कमिटि यसअघिको क्षेत्रीय समिति जस्तो हैन । शक्ति पृथकीकरणको उद्धेश्य अनुरुप गठन गरिएको हो ।’ उनले भने, ‘नामको मात्र नभएर प्रदेश गठनमा जिल्ला प्रतिनिधिबाटै गरिएको प्रस्ताव र सल्लाह गरेर गठन गरेका छौं ।’
नेपाल ओलम्पिक कमिटि (एनओसी)का केन्द्रिय सदस्य समेत रहेका केसीले एन्फाको प्रदेश कमिटिसंग जिल्लाको कामकारबाही हेर्ने र आवश्यक निर्देशन दिने अधिकार रहेको बताए ।
‘प्रदेशको कमिटि अधिकार प्राप्त छ । यसले जिल्लाको काम कारबाही हेर्ने र गतिविधिका आधारमा नयाँ जिल्लाको प्रस्ताव गर्ने अधिकार दिएका छौ ।’ उनले भने ।