काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले सबै पक्षसंग छलफल र परामर्श गरेर अघि बढ्ने बताएका छन् ।
सिंहदरबारमा आईतबार पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री लामाले सबै पक्षसंग परामर्श गरेर परिणाम देखिने हिसाबले काम गर्ने बताए ।
‘पुराना नियमित कार्यक्रम अघि बढाउने र नयाँ कार्यक्रम बनाउने कामसंगै परिणाम निस्कन सक्छ । र राम्रो काम भएको सन्देश जाने हिसाबले काम गर्छु ।’ पदभार ग्रहण गर्दै लामाले भने ।
उनले मन्त्रालयले गर्नुपर्ने थुप्रै विषय रहेको उल्लेख गर्दै योजनाबद्ध तरिकाले आफु अघि बढ्ने बताए ।
'थुप्रै विषय छन् । प्राथमिकताले विषय फरक पर्न सक्छ । प्रारम्भिक, तत्कालिन, मध्यकालिन र दिर्घकालिन रुपमा अघि बढ्दा राम्रो हुन्छ ।' उनले भने ।
बदलिदो राजनीतिक परिस्थित असहज भएपनि खेल क्षेत्रलाई कुनैपनि अवस्थामा अघि बढाउने दायित्व रहेको बताए ।
मन्त्रीमण्डल पुनर्गठनसंगै प्रधानमन्त्री ओलीले पूर्व माओबादीबाट लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
नवनियुक्त मन्त्रीको स्वागतमा मन्त्रालयले आईतबार औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । मन्त्री लामालाई स्वागत गर्न मन्त्रालय अन्तर्गतका राखेप, युवा स्वरोजगार, स्काउट र युवा परिषद्का पदाधिकारी मन्त्रालयमा पुगेका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयको काम कारबाही र दायराका विषयमा नवनियुक्त मन्त्रीलाई जानकारी गराएका हुन् ।
उनले निकै सम्भावना र अवसर भएको मन्त्रालयको रुपमा युवा तथा खेलकुद मन्त्रालयलाई ब्याख्या गरेका थिए ।
सचिव थपलियाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा भईरहेका र सम्पन्न गर्नुपर्ने कामका विषय नवनियुक्त मन्त्री समक्ष राखेका थिए ।