काठमाडौं । कर्णाली प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वमित्र सत्याल नियुक्त भएका छन् ।
कर्णाली प्रदेशको मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा सत्याललाई नियुक्त गरेको हो ।
सत्याल राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व ईन्जिनियर हुन् ।
सत्याल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्लाका हुन् ।
मुख्य मन्त्री शाहीकै जोडबलमा सत्याललाई प्रदेश खेलकुदको सदस्य सचिवमा नियुक्त गरिएको हो ।
सदस्य सचिव पदका लागि ऋषी गिरी, घनश्याम पाण्डे र रबिन्द्र चन्द ठकुरीको नाम चर्चामा थियो ।
अन्तिममा मुख्य मन्त्री शाहीले सत्यालको नाममा निर्णय गराएका हुन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वर्ष समिति गठन गरि नाम सिफारिसको प्रक्रिया अघि बढाएको थियो ।
समितिले प्रदेश खेलकुद परिषद्को सदस्य सचिवका लागि गत चैत ४ गते सिफारिस गरेको थियो ।
सत्याललाई सदस्य सचिव बनाउने तयारी स्वरुप सामाजिक विकास मन्त्रालयले मंसिर २५ गते प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसंग राय मागेको थियो ।
सामाजिक विकास मन्त्रालयले ईन्जिनियर रहेका सत्यालको निर्माणको योग्यतालाई खेलकुद क्षेत्रको अनुभवको रुपमा लिने वा नलिने भनेर द्धिविधा रहेको बताएको थियो ।
कानुन मन्त्रालयको राय अनुसार प्रदेश मन्त्रीपरिषद्को सोमबारको बैठकले सत्याललाई सदस्य सचिवमा नियुक्त गरेको हो ।