काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले नेपाली खेलकुदको अभिलेखिकरण गर्ने परियोजनाको औपचारिक सुरुवात गरेको छ ।
एनओसीले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)को सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत 'प्राजेक्ट' २०२०–२०२१ सुरु गरिएको बताएकाे हाे ।
आईतबार पत्रकार सम्मेलन गर्दै एनओसीले नेपाली खेलकुदमा दूरगामी प्रभाव पार्ने अभिलेखिकरणको परियोजना सुरु भएको जानकारी दिएकाे छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजनाको घोषणा गर्दै यसलाई खेलकुदको ऐतिहासिक दिनको रुपमा ब्याख्या गरे । उनले खेलकुदको ईतिहासलाई जगेर्ना गर्न संग्राहलयको परियोजना सफल हुने विश्वास ब्यक्त गरे ।
‘पहिलो चरणको सहयोग अन्तर्गत संग्राहलयको काम अघि बढाएका छौ । पहिलो चरणको सफलतासंगै दोस्रो चरणको काम समेत अघि बढ्छ । उद्धेश्य पुरा नहुन्जेलसम्म यसलाई अघि बढाउने छौ ।’ उनले भने ।
नेपाल ओलम्पिक कमिटिको अनुरोधमा आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत अभिलेखिकरणको परियोजना सञ्चालन हुन लागेकाे हाे ।
परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रम अन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेकाे छ ।
ओलम्पिक कमिटिले खेलकुदको ईतिहासमा अभिलेखिकृत गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास स्वरुप परियोजना अघि बढाउन लागिएको बताएकाे छ ।
एनओसीले नेपाल ओलम्पिक संग्रहालयसंग मिलेर परियोजनालाई अघि बढाउने छ । कार्यक्रमलाई लिएर मार्चमा एनओसी र ओलम्पिक संग्रहालयबीच सम्झाैता भएकाे थियाे ।
एनओसीले विभिन्न खेलको सुरुवात, खेलकुद ऐनसंग सम्बन्धित दस्तावेज, एनओसीको ईतिहास, अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले प्रर्दशन, प्रतियोगितासंग सम्बन्धित तस्विर र भिडियो संकलनको प्रयास गरिने बताएको छ ।
परियोजनाले नेपाली खेलकुदको डिजिटल आर्काईभको रुपमा आकार लिने र सबैका लागि उपलब्ध हुने उल्लेख गरेको छ । संग्राहलयमा ओलम्पिकसंग आबद्ध खेललाई बढी प्राथमिकता दिईने एनओसीको भनाई छ ।