एजेन्सी । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको भोट अब ई–सेवाबाट गर्न पाईने भएको छ ।
भोटिङ्गका आधारमा विजेता बन्ने पिपल्स च्वाईस अवार्ड विधाका मनोनितलाई अब ई–सेवामार्फत भोट गर्न पाईने भएको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च र ई–सेवाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा मञ्चका महासचिव प्रज्वल ओली र ई–सेवा चिफ अपरेटिङ्ग अफिसर रोशन लामिछाने हस्ताक्षर गरेका थिए ।
ई–सेवाका ग्राहकले अब ई–सेवाको एप डाउनलोड गरेर मन पर्ने खेलाडीलाई भोटिङ्ग गर्न पाउनेछन् ।
मञ्चले यसवर्ष पिपल्स च्वाईस अवार्डका लागि ५ जनाको मनोनयन सार्वजनीक गरेको छ । लोकप्रिय विधामा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा भण्डारी, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र भलिबलकी अरुणा शाही रहेका छन् ।
ई–सेवाका चिफ अपरेटिङ्ग अफिसर लामिछानले आफुहरुको प्रवेशसंगै अवार्ड विश्वब्यापी बन्न सहयोग पुग्ने बताए ।
‘विश्वभर हाम्रा प्रयोगकर्ता रहेका छन् । ई–सेवाका ग्राहकले अब विश्वभरबाट आफुलाई मनपर्ने खेलाडीलाई भोट गर्न पाउनेछन् । भोट गर्ने दायरा थप फराकिलो बनेको महशुश गरेका छौ ।’ उनले भने ।
आयोजक सस्थाका सचिव गोबिन्द रेग्मीले भोटिङ्गलाई थप ब्यवस्थित गर्न नयाँ प्रयोग गर्न खोजिएको बताए ।
यसअघि भोटङ्ग मोबाईल एसएमएसको माध्यमबाट हुने गरेको थियो ।
मञ्चका महासचिव प्रज्वल ओलीले ई–सेवासंग जोडिन पाउँदा खुसी लागेको बताए ।
उनले ई–सेवाको आगमनले अवार्ड थप विश्वव्यापी बन्ने आशा व्यक्त गरे ।
पिपल्स च्वाईस अवार्डका लागि ई–सेवाको भोटिङ्गबाट ५० प्रतिशत तथा फेसबुक पेजको २५ र पत्रकार, संघका मुख्य प्रशिक्षकको २५ प्रतिशत मतभार राखिएको छ ।
अवार्डको १७ औं संस्करण पुस २८ गते आयोजना हुदैछ ।