काठमाडौं । सन् २०३० मा हुने एसियन गेम्सको आयोजना कतारले गर्ने भएको छ ।
ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाले मतदान मार्फत सन् २०३० को एसियन गेम्सको आयोजना कतारलाई दिने निर्णय गरेको छ ।
त्यसको चार वर्ष पछि हुने २०३४ को एसियन गेम्स भने साउदी अरबले आयोजना गर्नेछ ।
सन् २०३० को एसियन गेम्सको आयोजनाका लागि कतार र साउदी अरबले दाबी गरेका थिए । जसमा कतारले बाजी मारेको छ ।
एसियन ओलम्पिक परिषद् (ओसीए)को साधारण सभाले कतारलाई मतदान मार्फत आयोजनाको जिम्मेवारी दिएको हो ।
साउदी अरब र कतारबीच लामो समय चलेको राजनीतिक विवादका बीच मतदान सम्पन्न भएको थियो । साउदी अरब ती चार देश मध्य एक थियो, जसले सन् २०१७ मा कतारसंग ब्यापार तथा यात्रा गर्न वहिष्कार गरेको थियो ।
दुवै देशले सहमतीमा आयोजनाको प्रतिस्पर्धालाई थाती राख्न सक्थे । तर दुवैले मतदानमार्फत अघि बढ्ने निर्णय लिए ।
ओसीएका अध्यक्ष शेख अहमद अल फहद अल सबाहले भने, ‘यसको मतलब कोही विजेता हैन, कसैको हार भएको छैन ।’