काठमाडौं । पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण पुस २७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलनमार्फत एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को मिति सार्वजनीक गरेको हो ।
कोरोना महामारीका कारण सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमि भर्चुअल माध्यमबाट सञ्चालन गरिने आयोजकले जनाएको छ ।
२०६२ सालदेखि नियमित रुपमा खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको प्रतियोगिता भुकम्पका कारण २०७२ सालमा एक संस्करण स्थगित भएको थियो ।
गत वर्ष सागको आयोजना र नेपाली खेलाडीले प्राप्त गरेको सफलताले समेत यस वर्ष अवार्ड गर्ने निष्कर्शमा पुगिएकाे मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले बताए ।
अवार्ड कार्यक्रमको मुख्य प्रायोजकको रुपमा यसवर्ष समेत हंशराज हुलासचन्द एण्ड कम्पनी यथावत रहनेछ ।
यस वर्ष अवार्ड अन्तर्गत १० विधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
मञ्चका महासचिव प्रज्जवल ओलीले यस वर्ष पनि वर्ष उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट र टिम अफ द इयर गरि ९ विधामा खेलाडी, प्रशिक्षक र पुराना खेलाडीलाई सम्मानित गरिने बताए ।
यस्तै गत वर्ष थपिएको ईन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डलाई यस वर्ष समेत निरन्तरता दिईने मञ्चले जनाएको छ ।
अघिल्ला वर्ष जस्तै वर्ष पुरुष, वर्ष महिला, पिपल्स च्वाईस र प्रशिक्षकका चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाईकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
अवार्डका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको मञ्चद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।