काठमाडौं । साउदी अरेबियाले सन् २०३० को एसियाली खेलकुद आयोजनामा नेपालको समर्थन माग गरेको छ ।
नेपाल ओलम्पिक कमिटि (एनओसी)का पदाधिकारीसंग शनिबार भेट गरि साउदी अरेबियाका राजदुत मुसाउद अल आरवेले एसियाली खेलकुद खेलकुदको आफ्नो दाबीमा नेपालको समर्थन माग गरेको हो ।
सन् २०३० को एसियाली खेलकुद आयोजनामा खाडीका दुई राष्ट्र साउदी अरेबिया र कतारले दाबी गरेका छन् । दुवै देश अन्य देशको सहयोग जुटाउन तिव्र लबिङ गरिरहेका छन् ।
यसअघि कतारी ओलम्पिक टोली काठमाडौं आएर नेपालको समर्थनको माग गरेको थियो ।
लगत्तै साउदी अरेबियाको टोली शनिबार बिहान ललितपुरको सातादोबाटोस्थित केन्द्रिय कार्यालय पुगेर ओलम्पिक कमिटिका पदाधिकारीसंग भेट गरेको थियो ।
एनओसीले खेलकुदको माध्यमबाट पारस्परिक सहयोग लागि कुराकानी भएको जनाएको छ ।
छलफलपछि एनओसी अध्यक्ष श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रुपमा समान रहेको बताउँदै ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटिको साधारण सभामा दुवै पक्षसंग थप छलफल हुने बताए ।
उनले अन्तिम निर्णय अघि नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई मुख्य आधार बनाईने बताए ।
अध्यक्ष श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले मस्कटमा हुने साधारण सभामा भाग लिने एनओसीले जनाएको छ । सो अवसर एनओसीको नेतृत्वले साउदी र कतार ओलम्पिक कमिटिसंग थप छलफल गर्नेछ ।