काठमाडौं । गण्डकी प्रदेशमा आयोजना गर्ने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने निश्चित भएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले नवौं राष्ट्रिय खेलकुदको नयाँ मिति राखेपको आगामी बोर्ड बैठकले तय गर्ने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा उनले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने बताए ।
‘कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेल क्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने भन्नेनै आजको चुनौती र जिम्मेवारी हो ।’ उनले भने, ‘१३ औं साग सम्पन्न पश्चात एक बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ । कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट बिचल्लित हुने थिएनौं ।’
उनले भब्यताको कुनै कमि नरहने गरि नवौं राष्ट्रिय खेलकुद हुने र राखेपको बैठकले उपयुक्त मिति तय गर्ने उल्लेख गरे ।
सरकारले यसअघि नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । खेलकुद मन्त्रीकाे मन्तब्यले राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने प्रष्ट देखिएकाे हाे ।
अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो ।
यस्तै, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो ।
कार्यक्रममा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भईरहेको बताए ।
उनले ओलम्पिकमा समावेश हुने खेल लगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको जानकारी गराएका थिए ।
‘कोभिडको केन्द्र खेलकुद नबनोस् भन्नेमा सचेत छौं ।’ उनले भने ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संसद जिवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने धारणा राखे ।
कार्यक्रममा राखेप उपाध्यक्ष शिव कोईराला, नेपाल कबड्डी संघकी अध्यक्ष संसद तुलसा थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, बागमती प्रदेशका सदस्य–सचिव सुर्य भण्डारीलगायत बिभिन्न संघका अध्यक्ष तथा महासचिवले अन्तरक्रिया धारणा राखेका थिए । सो अवसरमा राखेपका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।