काठमाडौं । नेपाल ओलम्पिक कमिटि अन्तर्गत रहेको ‘स्पोर्टस फर अल’ कमिसनको अध्यक्षमा पुन: विष्णु गोपाल श्रेष्ठ चयन भएका छन् ।
ओलम्पिक कमिटीले शुक्रबार श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय समिति चयन गरेको हो । यस अघि पनि कमिसनको अध्यक्षमा श्रेष्ठ नै रहेका थिए ।
स्पोर्ट्स फर अल ओलम्पिक कमिटिका कमिसनमध्ये सबैभन्दा सक्रिय कमिटी हो ।
कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम गर्ने भएको छ । कमिसनका अध्यक्ष श्रेष्ठले आउने वर्षमा खेलकुदबारे जन चेतना बढाउन धेरै भन्दा धेरै कार्यक्रम गर्ने जानकारी गराए ।
‘खेलकुद सबै बर्गलाई चाहिन्छ । खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन् । यो स्वास्थ्य क्षेत्रसँग पनि सम्बन्धित छ । कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ,’ श्रेष्ठले भने ।
यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस संस्थाले आम नेपालीमा खेलकुदको महत्व र आवश्यकताबारे बुझाउन सफल हुनेमा विश्वस्त रहेको बताए ।
‘खेलकुद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ,’ अध्यक्ष श्रेष्ठले भने ।