काठमाडौं । काभ्रे जिल्ला फुटबल संघले आफ्नो मातहतमा रहने गरी प्रशिक्षक संघ र रेफ्री संघ गठन गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्य जिल्ला काभ्रेले प्रशिक्षक र रेफ्री संघ गठन गरेको हो ।
काभ्रे जिल्ला प्रशिक्षक संघको अध्यक्षमा रामचन्द्र थापा निर्विरोध चुनिएका छन् । यस्तै रेफ्री संघमा रोजन योगल सर्वसम्मतले अध्यक्ष चुनिए ।
काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकाश श्रेष्ठले संघ भित्र रहेका प्रशिक्षक र रेफ्रीको जानकारी र प्राविधिक काम कर्तव्यसहितको अधिकार दुबै संघलाई दिईएको बताए ।
‘यस अघि हामीसँग रेफ्री र प्रशिक्षक संघ नै थिएन । दुबैको काम जिल्ला एफएबाट हुँदै आएको थियो । अब भने दुबै संघले आ-आफ्ना कार्य गर्छन् । यो सँगै एफएलाई अन्य कार्यका लागि सहज भएको छ,’ खेलपाटीसँग बोल्दै अध्यक्ष विकासले भने ।
प्रशिक्षक संघको उपाध्यक्षमा प्रविन खाछे श्रेष्ठ र राजु लामा निर्वाचित हुँदा जयोज नर्सिङ्ज्यु श्रेष्ठ महासचिव रहँदा अशोक कार्की सचिव पदमा निर्वाचित भए । यस्तै सुरज कुमार लामा र संसार नन्द पलान्चोके सदस्यमा निर्वाचित भए ।
यस्तै रेफ्री संघमा अंकुर ब्यञ्जु, प्रदिप नवित उपाध्यक्षमा निर्विरोध रहे । यस्तै मुक्ति कपाली महासचिव, रोहित तुसुजु सविच, कंचन तिमल्सिना, सविन सापकोटा, सुजन कर्माचार्य र राम तुसुजु सदस्यमा निर्विरोध चयन भए ।