काठमाडौं । नेपाल भ्रमणमा रहेको कतार ओलम्पिक कमिटीका प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटिका प्रतिनिधिसँग भेट गरेका छन् ।
कतार ओलम्पिकका महासचिव जसिम रसिद जेए अल्बुनइनको नेतृत्वमा रहेको टोलीले बिहीबार सातदोबाटोस्थित एनओसी भवनमा नेपाली टोलीसँग भेट गरेका हुन् ।
भेटमा कतारी टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारी दिन लागेको जानकारी गराउदै नेपाललाई सहयोग र समर्थनका लागि अनुरोध गरेका थिए ।
कतारी टोलीले एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दाबेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना गरेका थिए ।
‘कतारले यसअघि पनि सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरिसकेको छ । खेलकुद विकासमा कतार र नेपाल अपसी सहयोगका लागि वचनबद्ध रहेका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपाल र कतारको दुई पक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्ध बलियो बनाउन मदत मिलेको छ ।’
कार्यक्रममा कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउदै आफ्नो देशको दाबेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरे ।
कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मनको समेत उपस्थिति रहेको थियो ।
यस्तै नेपालका लागि कतारी राजदुतको समेत उपस्थिति रहेको थियो ।
नेपाली टोलीमा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।