काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका स्पाइकर धन बहादुर भट्ट नेपाली सेनाको जमदार पदमा बढुवा भएका छन् ।
त्रिभुवन आर्मी क्लबका स्पाइकर समेत रहेका धन बिहीबार सेनाको हवल्दारबाट जमदारमा बढुवा भएका हुन् ।
बढुवाको नियमित प्रक्रिया अनुसार जमदारमा बढुवा भएको धनले खेलपाटीलाई बताए ।
बिस २०७२ सालबाट राष्ट्रिय टिममा रहेका धन गत वर्ष नेपालमा सम्पन्न १३ औं सागमा टिमका मुख्य खेलाडी थिए ।
गोरखामा जन्मिएका धन एपीएफ क्लब हुँदै आर्मीमा प्रवेश गरेका हुन् ।
करारमा एपीएफबाट खेल्दै आएका धनले बिस २०७२ सालमा सेनाको प्राविधिकमा नाम निकाल्दै आर्मीको स्थायी खेलाडी बनेका थिए ।
यस्तै फुटबलका टंक बस्नेत पनि जमदारमा बढुवा भएका छन् ।
राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर टंक आर्मीका क्लबमा मुख्य खेलाडी हुन् ।
धन र टंकलाई बिहीबार सेनाका प्राविधिक महासेनानी ईश्वर कुमार श्रेष्ठले दर्जान्ही चिन्ह प्रदान गरेका थिए ।