काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा खर्च विवरण सार्वजनिक भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार एक पत्रकार सम्मेलन गर्दै १३ औं सागको खर्च विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा राखेका सदस्य सचिव रमेशकुमार सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक खर्च विवरण अनुसार साग खेलकुद तर्फ १ अरब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ ।
यस्तै निर्माणतर्फ २ अरब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
राखेपले १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको जनाएको छ ।
राखेपले आम्दानीका स्रोतमा सरकारबाट प्राप्त, टिकटबाट उठेको रकम, विज्ञापनको रकम र सहभागि राष्ट्रबाट प्राप्त भएको जनाएको छ ।
राखेपले १ करोड ९३ लाख ८० हजार २२४ रुपैया रकम फ्रिज भएको पनि जनाएको छ ।
त्यस बाहेक राखेपले १३ औं सागका पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागि राष्ट्रिय संघहरुलाई पुरस्कारवापत २२ करोड ७६ लाख वितरण गरिएको समेत जनाएको छ ।
राखेपले साग सकिएको एक वर्षपछि प्रतियोगिताको हिसाब किताब सार्वजनिक गरेको हो ।
१३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो ।
घरेलु भूमिमा भएको सागमा नेपालले कुल २ सय ६ पदक जितेको थियो । जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक रहेको छ ।
तर, लामो समयसम्म राखेपले खर्च विवरण सार्वजनिक गर्न सकेको थिएन।
साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
तर, राखेपले तीनै स्थानको हिसाबकिताब समयमा नआएको र कोरोनाको महामारीको कारण ढिला भएको जनाएको छ ।