काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खर्च विवरण सार्वजनिक गर्ने भएका छन् ।
सिलवालले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर सागको हिसाब किताब सार्वजनिक गर्न लागेका हुन् ।
राखेप प्रवक्ता समेत रहेका प्रशासनिक विभाग प्रमुख कुलबहादुर थापाले समाचारको पुष्टि गर्दै सागको खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिएको खेलपाटीलाई बताए ।
‘सागको खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेका छौ । पत्रकार सम्मेलनमार्फत सदस्य सचिवले सागको हिसाब किताव सार्वजनीक गर्नुहुनेछ ।’ प्रवक्ता थापाले भने ।
सदस्य सचिव सिलवालले मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं सागसंग सम्बन्धित विषयमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
सोही पत्रकार सम्मेलनमा खर्च विवरण समेतसार्वजनिक गरिने प्रवक्ता थापाले बताए ।
साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेछ छ । तर प्रतियोगिता आयोजनाको झण्डै एक वर्षपछि सदस्य सचिव सिलवालले खर्च विवरण सार्वजनिक गर्न लागेका हुन् ।
सागको खर्च विवरण सार्वजनिक नगर्दा सदस्य सचिव सिलवालको सुशासन र पारदर्शीताको नारामाथि प्रश्न उठ्दै आएको थियो ।
साग आयोजना तथा सामान खरिदमा ब्यापक भ्रष्ट्राचार भएको आरोप राखेप समक्ष लाग्दै आएको छ । पछिल्लो समय ब्याडमिन्टनको जुत्ता तथा म्याट खरिदमा भ्रष्ट्राचार भएको निष्कर्श सहितको प्रतिवेदन छानविन समितिले तयार पारेको थियो ।
राखेपले समिति गठन गरेर तयार पारेको छानविन प्रतिवेदन लामो समय बितिसक्दा समेत सार्वजनिक भएको छैन ।