काठमाडौं । कोरोना भाईरसको महामारीपछि नेपाल सरकारले गत चैत दोस्रो साताबाट देशमा लकडाउन लगाएको थियो ।
सरकारले लगाएको लकडाउनसँगै सम्पूर्ण खेलकुद गतिविधि समेत ठप्प बन्यो ।
सरकारले लकडाउन गत साउनमा खुला गर्यो । तर, खेलकुद गतिविधिलाई पूर्ण रुपमा खुला गरेको थिएन ।
अन्तर्राष्ट्रिय खेलका प्रशिक्षणको लागि भने अनुमति दिएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भने स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको छ ।
फुटबल लगायत केहि खेलले भने प्रशिक्षण सुरु गरिसकेको छ । राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा लागि बंगलादेशमा रहेको छ ।
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर १० गतेबाट गर्ने नेपाल क्रिकेट संघ क्यानले बताईसकेको छ ।
नेपाली खेलकुदमा भलिबल खेल फुटबल र क्रिकेटपछि सर्वाधिक रुचाईएको खेल हो । भलिबल नेपालको राष्ट्रिय खेल समेत हो ।
सरकारले २०७४ को जेठ ८ गते भलिबललाई नेपालको अधिकारिक राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेको थियो ।
तर, नेपाल भलिबल संघले कोरोना भाईरसलाई कारण देखाउँदै आफ्ना कार्यक्रम अगाडी बढाउन सकिरहेको छैन ।
राष्ट्रिय टिमको प्रशिक्षण अन्योलमा रहेको छ । कोरोनाकै कारण संघको निर्वाचन समेत रोकिएको थियो ।
लामो समय भलिबल कोर्ट बाहिर रहेका खेलाडीहरु भने प्रशिक्षणमा फर्कन चाहन्छन् । खेलाडीहरु कोर्ट फर्कने मिति कुरेर बसेका छन् ।
‘राष्ट्रिय खेल त भनिन्छ । फुटबल सुरु भईसक्यो । भलिबल हुने छाट काटनै छैन’, राष्ट्रिय टिमका सदस्य राजेन्द्र विष्ट भन्छन्, ‘राष्ट्रिय खेलकै हालत यस्तो छ । अझै कति दिन पर्खनु पर्ने हो ?’
भलिबलका अधिकांस खेलाडी घरमै थन्किएका छन् । विभागमा रहेका कतिपय खेलाडी भने ड्युटीमा खटिएका छन् ।
जसको कारण कतिपय खेलाडीले लामो समयबाट बल छुन समेत पाएका छैनन् ।
विभागीय टिम त्रिभुवन आर्मीबाट खेल्दै आएका ओपन स्पाइकर राजेन्द्रले समेत आठ महिनाबाट बल छुन पाएका छैनन् ।
‘लकडाउन यता बल नै छोएको छैन । ड्युटीमै छु,’ राजेन्द्रले भने ।
कोरोना संक्रमणसँगै राजेन्द्र ड्युटीका लागि हेटौडा पुगेका थिए । उनी अझै विभागको ड्युटीमा रहेका छन् ।
गत वर्ष नेपालमा आयोजना भएको एभिसी सेन्टर जोनबाट नेपाली टिममा डेब्यु गरेका राजेन्द्रले कोर्ट फर्कन आतुर भएको समेत बताए ।
‘सरकार र संघले हामीलाई जतिसक्दो चाँडो प्रशिक्षणमा फर्काओस । हामी प्रशिक्षणमा फर्कन आत्तुर छौं,’ राजेन्द्रले भने ।
यता, संघ भने सन् २०२१ को सुरुवातसम्म कुनै अन्तराष्ट्रिय प्रतियोगिता नभएका कारण तत्काल प्रशिक्षण सुरु नगर्ने पक्षमा रहेका छन् । एभिसीले समेत भलिबल खेलका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।