काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा मंसिर पहिलो साता हुने भएको छ ।
क्यानको शनिबार बसेको बोर्ड बैठकले साधारण सभा मंसिर ३ गते गर्ने निर्णय गरेको हो ।
यस अघि गत असोज २८ गतेका लागि तोकिएको साधारण सभा स्थगित गरिएको थियो ।
कोरोनाबाट संक्रमित क्यानका अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गरेको थियो ।
चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो ।
गत वर्ष असोज ११ गते निर्वाचनमार्फत नयाँ कार्यसमिति आएपनि वार्षिक साधारण सभा सम्पन्न गर्न सकेको छैन ।
चैतमा कोरोना कहर सुरु भएसगै क्यानको वार्षिक कार्यक्रम सहित साधारण सभा अनिश्चित बन्दै आएको थियो ।