काठमाडौं । कोरोना भाईरसको महामारीको कारण गत चैतबाट नेपाली खेलकुद ठप्प रहेको छ । सरकारले अन्य क्षेत्रलाई खुला गरेपनि खेलकुद संचालनका लागि अनुमति दिएको छैन ।
सरकारले हालै मात्र राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको थियो । राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरिसकेको छ ।
फुटबलले प्रशिक्षण सुरु गरेपनि अन्य खेलकुदका खेलाडी मैदान फर्कने मिति अझै अनिश्चित रहेको छ ।
सरकारले राष्ट्रिय खेलको घोषणा गरेपछि जुर्मुराउदै गरेको भलिबल पनि कोरोना महामारीपछि अन्य खेल जस्तै ठप्प बन्यो ।
कोरोनाको कारण संघको निर्वाचनसँगै विभिन्न प्रतियोगिता प्रभावित बन्यो । त्यतिमात्र हैन अझै भलिबल खेलाडी कोर्ट फर्कने मिति अनिश्चित छ ।
कोरोनापछि नेपाल भलिबल संघ पनि निश्क्रिय जस्तै बनेको छ ।
तर, संघका महासचिव जितेन्द्र बहादुर चन्दले खेल गतिविधि संचालन गर्न सरकारको अनुमति पर्खेर बसेको बताए ।
नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद गतिविधि गर्न स्विकृति दिएको खण्डमा भलिबललाई सक्रिय बनाउन सकिने चन्दको भनाई छ ।
‘नेपाल सरकार र राखेपले खेलकुद गतिविधि सुरु गरेको खण्डमा संघ चुप लाग्दैन । हामी सोच्छौं । हामीले आन्तरिक भलिबल सुरु गर्नको लागि सबै खेलकुद गतिविधि सुरु गर्नु पर्याे,’ चन्दले खेलपाटीसँग भने ।
कोरोनाको कारण व्यक्तिगत भन्दा सामूहिक खेलका खेलाडीलाई मर्का परेको छ । उनीहरु सामुहिक रुपमा प्रशिक्षण गर्न पाएका छैनन् ।
भलिबलका अधिकांश खेलाडी विभागमा अनुबन्धित छन् । तर, विभागले समेत प्रशिक्षण सुरु गर्न सकेको छैन ।
यस्तै आर्थिक अभावको कारणले राष्ट्रिय टिमको तयारी गर्न संघ असमर्थ भएको चन्द बताउँछन् ।
खेलाडीको स्वास्थ्य सुरक्षासँगै पीसीआर परिक्षण, होटेल ब्यवस्थापन, क्वारेन्टिन आदी संघको लागि मुख्य चुनौती बनेको चन्दको भनाई छ ।
‘राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने भनेको । तर त्यसको आर्थिक भार हामीले ब्यहोर्न सक्दैनौं । अन्तराष्ट्रिय सहयोग भलिबल संघलाई छैन । प्रशिक्षणमा राख्दा महिला पुरुष कम्तिमा १५–१५ जना हुँन्छ । त्यसको भार सरकारले ब्यहोरेको खण्डमा हामीले प्रशिक्षण सुरु गर्न सक्छौं,’ चन्द भन्छन् ।
महसचिव चन्दले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) ले सन् २०२१ सम्मका सम्पुर्ण प्रतियोगिता रद्ध गरेको कारण समेत राष्ट्रिय टिमको तयारी तत्काल आवश्यक नरहेको बताए ।
‘हाल नेपालमा मात्रै हैन । साउथ एसियामा कुनै पनि देशको भलिबलको खेल सुरु हुन नसकेको अवस्था छ । यस्तै एभिसीले पनि जनवरीसम्म प्रतियोगिता गर्न नसक्ने बताएको छ’ चन्दले भने, ‘अहिले हामीले प्रशिक्षण सुरु गरेपनि कहाँ गएर खेल्ने ? सबै तिर बन्द छ । अन्य देशमा पनि सरकारले अनुमति नदिँदा भलिबल सुरु हुन पाएको छैन ।’
चन्दले एभिसीले अन्तराष्ट्रिय भलिबल सुरु गरेको खण्डमा भने नेपालको पनि सोच्न बाध्य हुने र तयारी सुरु गर्ने बताए ।