राजबिराज । सप्तरी जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
राजबिराजमा सम्पन्न साधारण सभामा संघका सचिव चन्दन यादवले वार्षिक प्रतिवेदन पेश गर्दै गत वर्ष संचालित प्रतियोगिता तथा प्राप्त उपलब्धीबारे जानकारी गराएका थिए ।
प्रतिवेदनमा कोरोना भाईरसको महामारी पूर्व संचालन गरिएका गतिविधीबारे समेटिएको छ ।
यस्तै सरकारले खेलकुद गतिविधी संचालन गर्न अनुमति दिएमा मेयर कप सप्तरी प्रिमियर लिग सिजन ३, सप्तरी महिला प्रिमियर लिग सिजन २, अम्पाएर कप जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, अम्पाएर स्कोरर तालिम लगायतका गतिविधि संचालन गर्ने योजना प्रतिवेदनमा समेटिएको छ ।
उक्त गतिविधी संचालनका लागि सचिव यादवले करिव ४२ लाख ६० हजारको अनुमानित बजेट समेत पेश गरेका छन् ।
साधारण सभामा संघका कोषाध्यक्ष तुलानाथ माझीले गत वर्ष ३१ लाख १८ हजार २ सय १८ रुपैया खर्च भएको विवरण पेश गरेका थिए ।
सप्तरी प्रिमियर लिग सिजन २ संचालनका लागि २० लाख १३ हजार ६ सय १ रुपैया, सप्तरी महिला प्रिमियर लिग संचालनको लागि ९ लाख ८९ हजार ५० रुपैया र आफना नियमित खेलाडी तथा पदाधिकारीहरुको कोभिड बिमासहित अन्य खर्चको त्यस विवरणमा समेटिएको छ ।
कार्यक्रममा मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत उत्कृष्ट प्रर्दशन गरेका रुपनी रायर्डसका अनुज यादवलाई पूर्व क्रिकेटर दिपेन्द्र चौधरीले प्रायोजन गरेका क्रिकेट ब्याट समेत प्रदान गरिएको थियो ।
सामाजिक दुरी कायम राख्दै संचालन गरिएको उक्त कार्यक्रममा साधारण सदस्य बाहेकको उपस्थिती गराइएको थिएन ।
राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको साधारण सभा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।