काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नव नियुक्त बोर्ड सदस्यले जिम्मेवारी लिएर काम गर्नुपर्ने बताएका छन् ।
परिषद्का नव नियुक्त बोर्ड सदस्यलाई सोमबार सम्बोधन गर्दै खेलकुद मन्त्री विश्वकर्माले बिषयगत र रुचि अनुसारको जिम्मेवारी लिएर काम गर्न निर्देशन दिए ।
‘राखेपको कार्यकारी भनेको सदस्य सचिवनै हो । तर बोेर्ड सदस्यहरु साक्षी किनारा बसेर हुदैन । बिषयगत, विभागीय र रुचि अनुसारको जिम्मेवारी यथासक्य लिएर काम गर्नुपर्छ ।’ बोर्ड सदस्यलाई सम्बोधन गर्दै उनले भने ।
मन्त्री विश्वकर्माले लामो समयदेखि परिषद्को पूर्ण बैठक नबसकेको उल्लेख गर्दै तुरुन्त बैठक आह्वान गर्ने बिषयमा आफुले तयारी गरिरहेको बताए ।
उनले दशैं लगत्तै बोर्ड बैठक आह्वान गर्ने तयारी भएको समेत जानकारी गराएका थिए ।
मन्त्री विश्वकर्माले १३ औं सागमा नेपालले ऐतिहासिक प्रर्दशन र नतिजा आत्मसाथ गरेको उल्लेख गर्दै नयाँ बोर्ड समक्ष आगामी दिनमा पदक बढाउने र राम्रो व्यवस्थापन गर्ने चुनौती रहेको बताए ।
ऐन कार्यान्वयनका लागि नियमावली तयार गर्ने काम सुरु भएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले परिषद्ले समेत सक्रिय तरिकाले नियमावली निर्माणमा सहयोग गर्न सुझाएका थिए ।
उनले बोर्ड सदस्यमा खेलकुदकै पृष्ठभूमीका व्यक्तिको बाहुल्यता रहेको बताउँदै नयाँ बोर्डसंग अवसरसंगै चुनौती रहेको उल्लेख गरे ।
यस्तै, राखेप सदस्य सचिव रमेशकुमार सिलवालले गण्डकी प्रदेशमा आयोजना गरिने नवौं राष्ट्रिय खेलकुदको बिषयमा निर्णय लिन ढिला भएको जानकारी गराएका थिए ।
उनले नयाँ बोर्ड सदस्यले स्थानीय तह, प्रदेश र केन्द्रको समन्व्य गर्ने बिषयमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
उनले परिषद्बाट नीतिगत निर्णय गर्न आवश्यक रहेको उल्लेख गर्दै सामूहिक रुपमा अघि बढ्ने बिषयमा योजना बनाईरहेको जानकारी गराएका थिए ।
राखेप उपाध्यक्ष शिव कोईरालाले बदलिदो परिवेशमा परिवर्तनलाई आत्मसाथ गरेर परिषदले काम गर्ने बताएका थिए ।
‘परिषद्को अवस्था हिजोको भन्दा फरक छ । यो टिमले गरेन भने गाह्रो हुन्छ । परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न आवश्यक छ ।’ उनले भने ।