काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडी बिमाको कार्यविधी बनाउन समिति गठन गरेको छ ।
राखेपले बोर्ड सदस्य इन्दिरा निरौलाको संयोजकत्वमा खेलाडी बिमा र खेलाडी परिचय पत्र व्यवस्थापनका लागि कार्यविधी बनाउन ५ सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई सरोकारवाला निकायसंग छलफल गरेर खेलाडी बिमा र परिचय पत्र व्यवस्थापनको कार्यविधी बनाउन जिम्मेवारी दिईएको छ ।
निरौला संयोजकत्वको समितिमा डेमबहादुर बस्नेत, इन्द्रबहादुर कार्की, रिखीराम पोखरेल र दिपक श्रेष्ठ सदस्य रहेका छन् ।
बस्नेत, कार्की र पोखरेल परिषद्का विभागीय प्रमुख हुन् भने श्रेष्ठलाई खेलाडीको प्रतिनिधिको रुपमा समितिमा राखिएको छ ।
समितिले देशको प्रतिनिधित्व गरि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका र राखेपले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको जीवन बिमा, स्वास्थ्य बिमा, दुर्घटना बिमाको कार्यविधी बनाउनेछ ।
समितिले खेलाडीको सहुलियतका लागि परिचय पत्र समेत व्यवस्थापन गर्नका लागि सरोकारवालासंग आवश्यक समन्वय गरी कार्यविधी तयार गरि परिषद् समक्ष पेश गर्नेछ ।
समिति संयोजक निरौलाले चोट र दुर्घटनाका कारण धेरै खेलाडीले समस्या भोग्नुपरेको उल्लेख गर्दै खेलाडी बिमाको प्रक्रिया अघि बढेको खेलपाटीलाई बताईन् ।
‘खेल्ने क्रममा खेलाडी विभिन्न दुर्घटनामा पर्दा मुख–दर्शक बन्ने अवस्था मात्र छ । खेलाडीका लागि पैसा निकाल्ने अवस्था कसैको हुदैन ।’ निरौलाले भनिन्, ‘अब खेलाडीको वर्गिकरण गरेर बिमा गर्ने योजना हो । सरोकारवाला निकायसंग छलफल गरेर कार्यविधी तयार गर्नेछौ ।’