काठमाडौं । एसियन गेम्स अर्थात् एसियाली राष्ट्रको ओलम्पिकको १८ औं संस्करण आइतबारबाट औपचारिक रुपमा सकिएको छ ।
इन्डोनेसियाको दुई सहर जाकर्ता र पालेमबाङमा भएको खेलकुदको कुम्भमेला एसियन गेम्सको १८ औं संकरण एक भव्य कार्यकमकाबीच समापन भयो ।
नेपालबाट इतिहासकै सर्वाधिक धेरै २९ खेलले प्रतिस्पर्धा गरेका थिए । तर, नेपालले सोचेजस्तो पदक आएन । नेपालले मात्र एक रजतमा चित्त बुझायो ।
प्याराग्लाइडिङको पुरुष टिमले क्रस कन्ट्री इभेन्ट्समा नेपाललाई एक रजत दिलाउन सफल भयो । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेको नेपाली टोलीले रजत दिलाएका थिए । उक्त पदकले नेपाल पदक तालिकाको ३३ औं स्थानमा रहन सफल भयो ।
यो नेपालले एसियन गेम्समा जितेको सर्वाधिक दोस्रो ठुलो पदक थियो । २० वर्षपछि प्राप्त गरेको रजतले नेपालको नाक जोगायो । यसअघी सन् १९९८ मा थाइल्याण्डमा भएको एसियन गेम्समा तेक्वान्दोकी सबिता राज भण्डारीले नेपाललाई पहिलो पटक रजत दिलाएकी थिइन् ।
कुल २९ खेलबाट १८७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एक पदक बाहेक अन्य खेलमा नेपालको प्रदर्शन सम्झन लायक रहेन । नेपालको प्रदर्शन लजास्पद नै रह्यो ।
नेपाली खेलाडीले पाएको सफलता राष्ट्रिय किर्तिमान र व्यक्तिगत प्रदर्शनको सुधार मात्र रह्यो । तर, नेपाल एक रजतमै रमाउन सफल भयो । नेपालले यो पदकलाई नै ठुलो सफलता मान्नु बाध्यता रह्यो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले समेत एक पदकलाई नेपालको ठुलो सफलता मानेका छन् ।
सदस्यसचिब बिष्टले आइतबार एक कार्यक्रममा भने, 'हामीले एसियाडमा ऐतिहासिक पदक जित्न सफल भएका छौं । हाम्रोलागि यो गौरवको विषय हो । टिम र एकल स्पर्धामा पदक जित्नु फरक छ ।'
सदस्यसचिब बिष्टले एसियन गेम्स सुरु अघि नेपालले कम्तिमा २ रजत र ३ कास्य जित्ने दाबी गरेका थिए । तर, सोचेजस्तो नतिजा उपलब्ध नहुदा सदस्यसचिव विष्टले एक पदकलाई ठुलो सफलता मानेका हुन् ।
एसियन गेम्समा नेपाललाई सर्वाधिक पदक दिलाउने खेलहरु तेक्वान्दो, कराते र बक्सिङले उत्कृष्ट प्रदर्शन गर्न सकेन् । रजतपछि नेपालले पाएको ठुलो सफलता ३ खेलाडीको राष्ट्रिय कीर्तिमान रह्यो । भारोत्तोलनका कमल बहादुर अधिकारी र सन्जु चौधरीले राष्ट्रिय किर्तिमान बनाए । यस्तै एथलेटिक्सका सोम बहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाए ।
त्यसबाहेक नेपाली फुटबल टोलीले एसियन गेम्समा ३६ वर्षपछि गोल गर्न सफल रह्यो । ३२ वर्षपछि एसियन गेम्स खेलेको नेपाली भलिबल टोलीले एक जित र एक वाक ओभर जित पाएर २० टिम रहेकोमा १५ औं वरीयता प्राप्त गर्यो ।
यता, चीनले एसियन गेम्स पुन आफ्नो हैकम जमायो । पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्यसहित कुल २८९ पदक जित्न सफल भयो । दोस्रो स्थानमा रहेको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्यसहित २०५ आफ्नो बनायो । दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्यसहित १७७ पदक जितेर तस्रो स्थानमा उभ्याउन सफल भयो ।