एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले प्रतियोगिताको पहिलो खेलमा पन्जाबसँग खेल्न लागेको हो ।
विश्व चर्चित लिग आईपीएलमा सन्दीपले लगातार तेस्रो पटक खेल्न लागेका हुन् । तर, सन्दीपले पहिलो खेलमा मौका पाउँछन् कि पाउँदैनन् भन्ने कौतुहलता बढेको छ ।
आईपीएल खेल्न सन्दीप वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) बाट आईपीएलका लागि सेप्टेम्बर १४ मा दुबई पुगेका थिए ।
आईपीएलको सबै प्रोटोकल पुरा गर्दै सन्दीप पहिलो खेल अघिको अन्तिम प्रशिक्षणमा समेत सामेल भएका थिए ।
आईपीएलका लागि झन्डै एक महिनाबाट दुबईमा रहेको दिल्लीको टिमसँग सन्दीप भने शनिबार मात्र सामेल भएका हुन् ।
त्यसैले धेरै क्रिकेट समर्थकले पहिलो खेलमा सन्दीपले मौका नपाउने बुझेका छन् ।
तर, क्रिकेट विश्लेषकको यसमा फरक मत रहेको छ । क्रिकेट विश्लेषकले पहिलो खेलमा सन्दीपले मौका पाउने बलियो सम्भावना रहेको बताएका छन् ।
क्रिकइन्फो, क्रिक्ट्र्याकर, इण्डिया डट कम, स्पोर्ट्सकिडा, टाइम्स अफ इण्डिया जस्ता मिडियाका क्रिकेट विश्लेषकले सन्दीपले पन्जाबविरुद्धको खेलमा स्थान बनाउने बताएका छन् । विश्लेषकले सार्वजनिक गरेको सम्भावित प्लेइङ-११ सन्दीपले स्थान पाएका छन् ।
दिल्लीमा यस पटक निकै सन्तुलित टिम रहेको छ । जसमा फास्ट बलिङ देखी स्पिनर र आक्रमक ब्याट्सम्यानको कुनै कमी रहेको छैन । अहिलेसम्म फाइनल पुग्न नसकेको दिल्ली यसपटक उपाधि होडमा रहेको पनि क्रिकेट विश्लेषक बताउँदै आएका छन् ।
सन्तुलित र निकै दिग्गज खेलाडी रहेको कारण दिल्लीमा प्लेइङ सेटमा स्थान बनाउन निकै कठिन देखिएको छ । स्टार खेलाडी समेत बेञ्चमा बस्नु पर्ने देखिएको छ ।
सन्दीपले समेत प्लेइङ सेटमा स्थान बनाउन भेट्रान स्पिनर अमित मिश्रा, रविचन्द्रन अश्विन, अक्षर पटेल जस्ता खेलाडीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
सन्दीपले सीपीएलमा भने राम्रो बलिङ गरेका थिए । सन्दीपले विजेता ट्रिनबागो नाइट राइडर्सविरुद्धको सेमिफाइनल खेलमा बाहेक अन्य सबै खेलमा विकेट हात पारेका थिए ।