काठमाडौं । नेपाल भलिबल संघले कोरोना महामारीका कारण समस्यामा परेका खेलाडीलाई राहत वितरण गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण खेलाडी तथा सम्बद्ध परिवारमा आर्थिक संकट देखिएको भन्दै संघले राहत वितरणको कार्यक्रमलाई अघि बढाएको हो ।
संघले पहिलो चरणमा राष्ट्रिय टिमका तीन जना खेलाडीलाई निवासमै पुगेर राहत वितरण गरेको छ ।
पहिलो चरणमा संघले राष्ट्रिय महिला टिमका खेलाडीद्धय उषा भण्डारी र सलिना श्रेष्ठ तथा राष्ट्रिय विच भलिबलका खेलाडी राजु विकलाई राहत वितरण गरेको हो ।
राहत बोकेर संघकी उपाध्यक्ष समेत रहेकी राहत वितरण समितिकी संयोजक निरोज मास्के र सह–संयोजक मनवीर छत्याल महिला खेलाडीद्धयको निवासमै पुगेका थिए ।
संघले बाग्लुङ्गमा रहेका राजुलाई भने राहत रकम उनकै खातामा हालिदिएको छ ।
संघले समस्यमा परेका खेलाडीलाई राहत वितरण गर्न उपाध्यक्ष निरोज मास्केको संयोजकत्वमा समिति बनाएको छ । समितिको सह–संयोजकमा सचिव मनवीर छत्याल रहेका छन् ।
संघकी उपाध्यक्ष मास्केले आवश्यकता अनुसार पहिलो चरणमा तीन खेलाडीलाई राहत वितरण गरिएको बताईन् ।
‘राष्ट्रिय स्तरका सबै खेलाडीको तथ्याङ्गक संकलन गरेका छौ । अति आवश्यक देखिएकालाई तत्काल राहत उपलब्ध गराएका हौ । संकटमा परेका सबै खेलाडीलाई राहत उपलब्ध गराउने योजना छ ।’ मास्केले भनिन् ।
कोरोना महामारीबाट अन्य सबै क्षेत्रजस्तै खेलकुद क्षेत्रपनि प्रभावित छ । खेलकुद गतिविधि नहुदा खेलाडी र तिनीहरुका परिवार आधारभूत रुपमै समस्यामा पर्न थालेका छन् ।