काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको छ ।
एनओसीले शुक्रबार नेपालमा भएका ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको हो ।
एनओसीका उपाध्यक्ष चतुरानन्द राज बैद्यले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य र सबै कर्मचारीको बिमा गरिएको खेलपाटीलाई जानकारी गराए ।
'नेपालमा भएका र हामीले भेटका करिब ५० जना ओलम्पियन खेलाडी, एनओसीका पदाधिकारी र कर्मचारी गरी ८९ जनाको कोरोना बिमा गरेका छौँ,' उपाध्यक्ष बैद्यले भने, 'छुटेका ओलम्पियन खेलाडी र अन्यको फेरी गरिने छ ।'
कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै एनओसीले उनीहरुको कोरोना बिमा गरेको हो । एनओसीको शनिबार बसेको बैठकले ओलम्पियनसहित पदाधिकारी र स्टाफको कोरोना बिमा गर्ने निर्णय गरेको थियो।
एनओसीले सबैको १ लाख बराबरको कोरोना बिमा गरेको हो । एभरेस्ट इन्सुरेन्स कम्पनीबाट उनीहरुको बिमा गरिएको उपाध्यक्ष बैद्यले जानकारी गराए ।
कोरोनाबाट गत महिना एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी संक्रमित भएका थिए । महासचिवसहित सबै कर्मचारी कोरोनाबाट मुक्त भईसकेका छन् ।