काठमाडौं । सरकारले भदौं पहिला साताबाट उपत्यकामा लागू गरेको निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको छ । तर खेलकुद क्षेत्र बन्द गर्ने यसअघिको निर्णय भने कायमै छ ।
उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमण फैलिएको भन्दै सरकारले भदौ ३ गतेदेखि २४ गतेसम्म विभिन्न चरणमा निषेधाज्ञा लागू गरेको थियो ।
काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाले जनजीवनमा प्रत्यक्ष असर गरेको भन्दै भोलि (बिहिबार)बाट खुकुलो बनाउने निर्णय गरेका छन् ।
यातायातका साधानहरु जोड-विजोडको आधारमा सञ्चालन गर्नेदेखि विभिन्न पसल तथा व्यापारिक गतिविधि शर्त सहित सञ्चालन गर्न दिने स्थानीय प्रशासनको निर्णय छ । तर सरकारले जिमखाना सहित खेलकुद गतिविधि र खेल प्रस्तुतीलाई बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले यसअघि भदौ १ गतेबाट अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षण गर्न अनुमती दिने निर्णय गरेको थियो । सोही अनुसार विभिन्न खेल संघहरुले खेलाडीको प्रशिक्षण सञ्चालन गर्ने तयारी समेत गरेका थिए । तर संक्रमण बढेको भन्दै उपत्यका सहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा सुरु भएपछि खेलकुद प्रशिक्षण अनिश्चित समयलाई स्थगित बनेको छ ।
चैतको पहिलो साताबाट घरेलु खेलकुदका सम्पूर्ण गतिविधि ठप्प प्राय छन् । सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाले खेलाडीहरु घर बाहिर निस्कन पाएका छैनन् ।
खेलाडी प्रशिक्षणमा सहभागी नभएको महिनौ बितेको छ । तर खेलकुदका सम्बन्धित निकायसंग खेलाडीलाई प्रशिक्षणमा निकाल्ने कुनै योजना देखिदैन ।
युवा तथा खेलकुद मन्त्रालय र खेलकुदको कार्यकारीणी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना कहरको कारण देखाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न नसकिएको बताउने गरेका छन् । सामान्य अवस्थामा समेत खेलाडीको नियमित प्रशिक्षण नगराउने धेरै खेलकुद संघहरुलाई कोरोना भाईरसले ठुलो राहत दिएको छ ।
युरोपमा कोरोना कहरकै बीच फुटबल सहित खेलकुद गतिविधि सञ्चालनमा आईसकेका छन् । नेपालका छिमेकी देशहरुमा समेत डब्लूएचओको प्रोटोकल अनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन् । तर नेपालमा भने लकडाउनलाई कारण देखाएर विगत ६ महिनादेखि खेलाडीलाई घरमै थुनिएर राखिएको छ ।
सामान्य अभ्यास र प्रशिक्षणका कार्यक्रम समेत सञ्चालन गर्ने योजना खेलकुद सम्बन्धि निकायले बनाउन सकेका छैनन् ।
खेलकुद बिज्ञ तथा खेलाडीहरु अभ्यास र प्रशिक्षण सुरु गर्ने योजना ल्याउनुपर्ने माग गरिरहेका छन् । तर खेलकुदका जिम्मेवार निकाय कोरोना कहरको कारण देखाउँदै खेलाडीलाई मैदान निकाल्ने योजनामा उदासिन छन् ।