काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा भएको अनियमितता र राखेप परिसरको रुख कटानका सम्बन्धमा छानबिन गर्न गठिन उपसमितिको म्याद १५ दिन थप गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बोर्ड सदस्य गोबिन्द भट्टराई नेतृत्वमा गठन गरेको ५ सदस्यीय उपसमितिले उपत्यकामा जारी निषेधाज्ञाका कारण समयमा अनुसन्धान सक्न नसकेको जानकारी गराएपछि १५ दिनको म्याद थप गरिएको हो ।
राखेपले भदौ ३ गते भट्टराईको नेतृत्वमा उपसमिति गठन गरेर २१ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन कार्यादेश दिएको थियो ।
राखेप प्रशासनीय विभाग प्रमुख कुलबहादुर थापाले उपसमितिको म्याद १५ दिन थपिएको खेलपाटीलाई बताए ।
‘उपसमितिको छानबिन अन्तिम चरणमा पुगेको रहेछ । निषेधाज्ञा खुलेको केही दिनमै रिपोर्ट बुझाउन सकिने जानकारी पायौ । तर प्रतिकुल अवस्थालाई ध्यानमा राखेर १५ दिनको समय थप गरेका छौ ।’ थापाले भने ।
१३ औं सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको बिषय उठेसंगै युवा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई निर्देशन दिएको थियो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० गते राखेपलाई पत्र लेख्दै तत्काल आर्थिक अनियमितता र रुख कटानमा भएको भ्रष्टाचार छानबिन गर्न निर्देशन दिएका थिए ।
छानबिन उपसमितिले भर्चुअल बैठक गरि खरिद तथा वितरणको आर्थिक पक्ष, कानुनी पक्ष, सामानको गुणस्तर र दाखिला सम्बन्धि प्रक्रियाको अनुसन्धान गर्न सदस्यबीच जिम्मेवारी बाँडफाँट गरेको थियो ।
उपसमितिले छानबिनका लागि कुनै गुनासो, सुझाव, निवेदन लगायत प्रमाण कागजात पेश गर्न ७ दिनको समय उपलब्ध गराउने निर्णय गरेको थियो । उसले भदौ १३ भित्र आफ्नो गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात उपसमितिमा पेश गर्न समय दिएको थियो ।
समितिमा संयोजक भट्टराई सहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन् ।
कहाँ पुग्यो अनुसन्धान ?
उपसमितिको संयोजक भट्टराईका अनुसार निषेधाज्ञा खुलेको हप्ता दिनमा उपसमितिले प्रतिवेदन बुझाउने छ ।
‘निवेदनकोे संकलन गरेका छौ । प्रमाणहरु जुटाएका छौ । केही खेलाडीसंग कुराकानी गरेका छौ ।’ भट्टराईले खेलपाटीसंग भने, ‘हामीसंग भनेको प्रमाण र राखेपको लेखा शाखासंग भएको प्रमाण जुधाउन बाँकी छ ।’
उपसमितिले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुर्याएको बताएको छ।
‘पोखरामा गएर म्याट हेर्न बाँकी छ । एक जनसंग बयान लिन बाँकी छ ।’ समिति संयोजक भट्टराईले भने, ‘निवेदकसंग बयानमा लगिसकेका छौ । निवेदकले औल्याएका पक्षसंग लिन बाँकी छ ।’
उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुप कटानको अवस्था समेत जानकारी दिएको छ ।
‘रुखको डाटाहरु संकलन गरिसकेका छौ । त्यहाँको विगत समेत उतारेका छौ । त्यहाँको पत्रहरु र केन्द्रिय कार्यालयबाट पठाएका पत्र रुजु गर्नमात्र बाँकी छ ।’ उनले भने ।